“भूकम्पले दिएको पाठ”

10352287_803460796357369_3586574567438580834_n

[Ads]

धेरै बर्षदेखि सम्भावनाका रूपमा हेरिएको भूकम्पले नयाँ बर्षको सुरुवातसँगै यथार्थ रूप लिएपछि, यसले सिंगो देशकै जनजीवनलाई तहसनहस पारिदिएको छ | अधिकांश घरहरु भत्किएका छन् जसले गर्दा धनजनको ठूलो क्षति भएको छ | बर्षौबर्षसम्म सुरक्षा दिदैं आइरहेको घर आज आफ्नै असुरक्षाको कारण बनेको छ | उद्ध्हार कार्यमा आएको ढिलासुस्तीले ज्यान गुमाउनेको संख्या बढ्दो छ | पुरातात्विक र ऐतिहासिक राष्ट्रिय सम्पदा, मठमन्दिर आदिले आफ्नो अस्तित्व गुमाएका छन् | एकसय नब्बे बर्षको इतिहास बोकेर उभिएको धरहरा अब रहेन | प्राचीन राज्यकालिन इतिहास बोकेका सुन्दर दरबार कुरूप बनेका छन् | डर र त्रासले सम्पूर्ण बाँचेकालाई पनि पिरोलिरहेको छ | जाँजरकोटको महामारी र त्यसप्रतिको चासोलाई पनि किचेर, पत्रिका, एफएम, टिभीहरु सबै भुइँचालोमय बनेका छन् |

भुइँचालोपछि म आफ्नो परिवार र छिमेकीहरूका साथमा घरबाहिरको खेतमा गएर बसें | प्राय: सबैको हालत उस्तै थियो | अझ कसैको कथा त यति भयानक हुन्थ्यो कि सुन्दै मुटु चिरिएर आउँथ्यो | कसैले घर गुमाएका थिए, कसैले आफ्नो परिवार | भूकम्पको धेरैथोरै अनुभब पहिले पनि नगरेको त होइन, तर यसपालि भने भूकम्पको कहालीलाग्दो रुप नै देखियो | त्यसमाथि अझैं “चन्द्रमा उल्टो भयो रे….” चिडियाखानाबाट बाघ निस्केको छ रे…”, “ज्वालामुखी फुट्दैछ रे….”, सकेको राहत बाँड्ने बेलामा, बाडिएका यस्ता यस्ता फोस्रा हल्लाले पनि कमजोर बनेको मानसिकतालाई झन् पिरोलिरहेको देखिन्थ्यो |

भूकम्पको दृष्टिकोणले जोखिममा पर्ने देश भनेर थाहा भए पनि, यसका लागि अग्रिम सतर्कता अपनाउन नसक्नाले देश चरम पीडामा परेको हो | तर यो राष्ट्रिय बिपत्ति भनेको सधैं आईरहँदैन र यो बिपत्ति आयो भनेर डरले खुम्चिएर बस्ने समय पनि हैन, नेपाली हुनुको परिचय दिने समय हो | किनभने जस्तोसुकै बिपत्तीसँग हार नमानी एकजूट हुनसक्ने नेपालीको इतिहास छ | हो, भूकम्पले राष्ट्र डगमगाएको हो, तर राष्ट्रियता डगमगाएको छैन | राष्ट्रिय धरोहरहरु भत्किएका हुन्, सकिएका हैनन् | यी धरोहरलाई फेरि उठाउनु छ, त्यसका लागि सर्वप्रथम यहाँका जनतालाई यो पीडाबाट बाहिर निकाल्नु छ | किनभने नेपालको अस्तित्व सम्पूर्ण नेपाली जनतामा निहीत छ | देश बनाउन सर्वप्रथम देशबासीको उध्हार हुन जरुरि छ र खुशीको कुरा, यसका लागि धेरै सहयोगी हातहरु एकजूट पनि भएका छन् |

एउटा कुनै ठाउँबाट अनेकौं बाचा गरेर चुनाब जीतेर सरकारमा पुगेका नेताहरु भन्दा अगाडि पुगी उद्धारका लागि जुटेका ती पौरखी हातहरुलाई म नमन गर्न चाहन्छु | त्यस्तै सहयोगका लागि जुटेका ती सम्पूर्ण स्वदेशी देखि लिएर बिदेशी मनहरुलाई मेरो सलाम छ | तर बिडम्बनाको कुरा के छ भन्दा, सहयोग र राहतका सामग्री भित्रिएर पनि कतिपय नेपालीहरु अझै पनि छाना बिहीन छन्, कतिले अझै खान पाएका छैनन, कति ठाउँमा त अझैं सम्म कोहि पुगेका पनि छैनन् भन्ने खबर सुन्दा र त्यस्ताका लागि आफूले केहि गर्न नसकेको देख्दा मुटु चिरिएर आउँछ | आफ्नो ठाउँबाट सहयोग त सबैले गरिरहेका छौँ, तर कोहि पुग्न नसकेको त्यस्ता बिकट ठाउँमा कमसेकम त्यो ठाउँको प्रतिनिधित्व गरी भोट जितेर आएको शक्ति त त्यहाँ पुगोस् |

सरकारले केहि गर्ला भनेर राहतको झिनो आशा बोकेर बाँचिरहेका सम्पूर्ण देशबासीको मुहारमा अब छिट्टै, थोरै भए पनि खुशी छाओस् , मेरो इश्वरसँग यही प्रार्थना छ | खान पुग्नेले त फेरि पनि अर्को घर बनाउलान् तर बिकट ठाउँमा खान पनि नपाएर झिनो आशा मनमा लिएर बस्ने मान्छेहरु पनि छन् | उनीहरुमा म के आह्वान गर्न चाहन्छु भने, सरकारलाई आफ्नो अभिभावक सोच्नु तपाइको गल्ती थिएन, ढिलोछिट्टो केहि गर्ला तपाइँहरुका लागि सरकारले पनि | तर त्यो बेला सम्मलाई ढुंगारुपि सरकारको आशा छोडेर, गाउँकै हामी एकजुट भई एकअर्काको सहारा बनेर अघि बढौं |

भनिन्छ नि, जीवनमा राम्रो-नराम्रो जस्तो परिस्थिति आएपनि यसले हामीलाई केहि न केहि पाठ चाहिं सधैं दिइरहेकै हुन्छ | मुलुकमा गएको यो महाबिनाशकारी भूकम्पबाट पनि हामी नेपालीलहरुले ठूलो पाठ लिनुपर्ने बेला आएको छ | यसपाली त खुला खेतमा पाल हालेर बस्न पायौं, तर अबका केहि बर्षमा त यी खाली जग्गा पनि नरहलान् | त्यो बेला के गर्ने हो? विकल्प खोज्न जरुरि छ |

हिजो सम्म भाषीय, जातीय, वर्गीय आदि आदि माग राख्दै आएपनि, बिपत्तिले सबैलाई समान रुपमा बिथोल्यो | को पहाडी, को मधेसी भूकम्पले कसैलाई छाडेन | जीवन र मृत्युको त्यो दोसाँधमा उभिएर धर्ती सँगसँगै हल्लिँदा, हामीले कसैको हात समात्यौं, तर उसको जात सोध्न भ्यायेनौं किनभने त्योबेला हाम्रो दु:ख समान थियो | भूकम्पले अग्ला घर हुनेहरुलाई पनि सडकमा ल्याइदिएको थियो, घर नहुनेहरु त सधैं त्यहि थिए | त्यतिबेला खुल्ला मैदानको पालमा आफ्नो र आफ्नाको सकुशल जीवनको प्रार्थना गरिरहँदा हामीलाई धनी-गरीबको भेदले छोएन | हामीले एक भएर विपत्तिको सामना गर्यौँ | बाँचेकाले अरुलाई बचाँउन मद्दत गर्यौँ | यो एकताको भाव सदैव हामी नेपालीमा हुन जरुरी छ, किनभने बिदेशी भनेका त पाहुना हुन् अनि घरलाई राम्रो बनाउने जिम्मा पाहुनाको होइन, घरका सदस्य को हुन्छ | आखिर कहिले सम्म उनीहरुको सहयोगको भरमा बाँच्ने हो र ? नेपाल हाम्रो घर हो, डेरा होइन | यो घरका केहि अंश भत्किएका छन्, त्यसलाई बनाउने जिम्मा हाम्रो हो, यो घरका कति सदस्य अझैं रोइरहेका छन्, उनीहरुलाई हँसाउने जिम्मा हाम्रो हो |

यस जिम्मेवारीलाई बुझेर कति युवाहरु एकजूट भई काँधमा काँध मिलाई राष्ट्रनिर्माणमा लागिसकेका छन् | यो हौसला र एकता यसरी नै कायम रहोस् | आजसम्म कसैसँग नझुकेको तर डटेर विपत्तिको सामना गरेको इतिहास कायम रहोस् | कुनै जमानामा हाम्रा पुर्खाले गोर्खालीको परिचय दिएका थिए, आज यस विपत्तिको घडीमा धैर्यता राखी पून: जुटेर नेपालीको परिचय दिने बेला आएको छ |

हो, यतिबेला देश रोएको छ तर हटेर होइन डटेर एकजूट भएर, एउटा नेपालीले अर्को नेपालीलाई साथ् दिने हो र यदि घर, परिवार बिहीन बनेका ती दुखी देशबासीको मुहारमा फेरि पनि बाँचेर केहि गर्न सक्ने आत्मविश्वास जगाउने हो भने, मलाई बिश्वास छ, हाम्रो देश पून: हाँस्नेछ | नेपाली झन्डामा रहेको सूर्य फेरि पनि मुस्कुराउनेछ अनि यो सब देखेर विश्वसामू उभिएको सगरमाथाले फेरि पनि गौरव गरेर भन्ने छ, “यो हो मेरो नेपाल” |

मुन्ना शर्मा

[Ads]