11201111_845295358840579_3603597562830960509_n

मंगलबारको दिन थियो | सयजना मान्छे मिलेर झन्डै सयलाख जनता बस्ने काठमाडौँ उपत्यका बन्द गराएरै  छाडेका थिए | त्यहि यातायात बन्दका कारणले साथी आउन नमिलेपछि आज म एक्लैले कार्यक्रम चलाउन जानुपर्ने थियो | स्टेशनसम्म हिड्दै पुग्नुभन्दा अर्को विकल्प थिएन | हुन त मेरो घरबाट स्टेशन धेरै टाढा त होइन अनि साथी हुँदा त्यो बाटो गाडी चढ्न भन्दा हिड्न नै रोज्ने म्, शायद आज एक्लै भएर होला २५ मिनेटको बाटो पनि मलाई साह्रै लामो लागिरहेको थियो |

समय सधैं एकै गतिमा चल्छ त भन्छन तर मलाई लाग्छ यसले पनि परिस्थिति अनुसार आफ्नो गणित भुल्दो हो | त्यसैले त घडीको काटा पनि कहिले हिड्नै बिर्सिँदो हो अनि कहिले चाहि दौडी दौडी कुद्दो हो | जे होस्, सडकमा गाडी नचल्दा पनि पैदल हिड्न चाहि रमाईलै हुँदो रहेछ | न धुलोको डरले मुख छोप्नु पर्ने, न त गाडीका डरले छेउबाट कोचिएर हिड्नु पर्ने | यत्तिकैमा मेरो ध्यान मेरै अगाडि अगाडि चप्पल घिसार्दै हिडिरहेको एउटा बालकमा पुग्यो | कत्तिसम्म घिसार्न सकेको होला त्यो चप्पललाई, हिड्न पनि नआउने, मैले सोचें |

नियाल्दै जाँदा मैले देखें, पैंतलाको भागमा खिएर पूरै पातलो भएको रहेछ उसको चप्पल | शायद त्यो चप्पलले उसको लामो यात्रा बुझाइरहेको थियो अनि धेरै मैला पाइन्ट, ठाउँ-ठाउँमा च्यातिएको सर्ट र हातमा बोकेको झुत्रे बोराले शायद उसलाई सडकमा बाँच्न बाध्य सडक-बालकको रूपमा चिनाइरहेको थियो; कमसेकम मैले यही रूपमा चिनें उसलाई |

ऊ बाटोमा हराएको केही कुरा खोज्दै हिंडिरहेको जस्तो देखिन्थ्यो | घरि बाटाका प्लाष्टिक टिपेर आफ्नो बोरामा हाल्थ्यो, घरि बाटाका ढुंगालाई फूटबलझैँ गरि खुट्टाले हान्थ्यो | कहिले आफूले खाँदै गरेको बिस्कुट बाटोमा देखेका कुकुरलाई दिंदै हिड्थ्यो त कहिले आकाशमा उडेका चराहरुको समूहलाई हेरेर हाँस्दै हिड्थ्यो | उ घरि छिट्टो हिंडेर मेरो अगाडी पुग्थ्यो त कहिले बाटोमा भेटिएको सामानसँग अल्मलेर मेरो पछाडी हुन्थ्यो | अगाडि पछाडि गर्दै हिडें पनि हामी सँगसँगै भइरहेका थियौ |

केहीबेर हिंडेपछी मेरो अघिल्तिर एकजना बूढीमान्छे दाउराको भारीलाई आफ्नो पिठ्यूँमा हाल्न खोज्दै थिइन् तर त्यो भारलाई उचाल्न सकिरहेकी थिइनन् | म भने पछाडीबाट त्यो भारी उचाल्न मद्दत गर्नुपर्ला भनेर मात्र सोच्न भ्याउँदै थिए, त्यो बालक कत्ति छिट्टो अगाडी बढेर त्यो भारी उनको पिठ्युँमा चढाईदियो, म हेरेको हेरै भएँ | मलाई एकदमै खुशी लागेर आयो | मुहारमा मुस्कान छचल्किने गरि मनमा एउटा तरङ्ग उठ्यो | लाग्यो क्यामेरा बोकेकी हुँदीहूँ त यो पललाई फोटोमा कैद गर्ने थिए | सुन्दा यो दृश्य सामान्य लाग्दो हो तर साच्ची भन्नुपर्दा यो कुराले मलाई अहिलेसम्म पनि एउटा सकारात्मक उर्जा दिन्छ | यो दृश्यले मलाई एउटा अनौठो आभास गरायो, मलाई त्यो बालकसँग बोल्न मन लाग्यो |

मैले उसको नाम सोंधे |
“ रामशरण ”, फाटिएका उसका दाँतबाट थोरै मुस्कान छर्दै उसले जवाफ दियो |

कुरा गर्दै जाने क्रममा थाहा पाए, उसको घर दोलखा रहेछ | सानैमा बाबुआमा बितेपछी ऊ आफ्ना केहि साथीहरुसँग काठमाडौँ आएको रहेछ | एकजना साथी र ऊ मिलेर भक्तपुर दरबार नजिकैको कबाडीखानामा दिनभरि बटुलेको सामान लगेर बेच्ने र त्यहि पैसाले खानेकुरा खाने र एउटा पाटिमा दुइजना सँगै बस्दै आएको उसले बतायो | अनि अहिले चाहि ऊ त्यहि पाटितिर फर्केको रहेछ, शायद उसको हातमुख जोड्ने दिनभरिको काम र थकानपछी |

यति कुरा सक्दा नसक्दा, स्टुडियो पनि आइपुग्यो | उसले मलाई ऊ बस्ने पाटीको ठेगाना पनि दिइसकेको  थियो | पढ्न मन लाग्छ? भन्ने मेरो प्रश्नमा उसले केहि प्रतिक्रिया दिएन | शायद उसलाई त्यसको उत्तर दिन जरुरि लागेन | छुट्ने बेला, तिमी केहि खान्छौ? भन्ने प्रश्नमा भने उसले स्वीकृति दियो | छेउको पसलबाट उसकालागि केहि खाने कुरा किनिदिएर मैले उसलाई बिदा गरे अनि म भने, घडीको काटाले फेरि धोका दिंदै कुदेको देखेर हतार हतार स्टुडियोतर्फ लम्किए |

त्यो दिनको, बीस मिनेटको उसँगको त्यो हिंडाईले मलाई धेरै कुरा सिकायो | समाजले उसलाई खातेको नामले चिन्ने गरेको थियो तर उसको निधारमा थोपरिएको यो नाम भन्दा धेरै फरक थियो उसको व्यक्तित्व | समाजमा सभ्य मानिएको भाषामा उसले बोल्न त जानेको थिएन तर सभ्यता उसको व्यवहारमा थियो | सफाई उसको रूपमा थिएन तर सफा उसको मन थियो | मानिस त उसको सोचले ठूलो हुन्छ, व्यवहारले महान हुन्छ | उसका ती निश्चल आँखालाइ नियालेर हेर्दा उसको भावनाको स्वच्छतालाई देख्न सकिन्थ्यो | उसको मनको यथार्थ चित्र देख्न सकिन्थ्यो |

उसका हात समातेर डोहोर्याउने कोहि थिएन तर परि आएको बेला अन्जान मान्छेलाई पनि आफ्ना सहयोगका हात अघि बढाउन उसले जानेको थियो | माया गरेर “ला बाबु खा” भनेर उसललाई खानेकुरा दिने कोहि थिएन तर पनि आफ़ूसँग भएको खानेकुरा सडकको कुकुरसँग बाढ्दै हिड्न पनि उसले जानेको थियो | उसलाई हाँसो र खुशी दिने कोहि थिएन तर आकाशमा उडेका चराहरुलाई हेरेर भएपनि उसले जीवनमा रमाउन जानेको थियो |

बाबुआमाको काख नपाए पनि उसले जीवनमा धेरै कुरा जानेको रहेछ | हामीलाई त घरदेखि स्कुल सबैले सिकाउछन्, फोहोर जताततै फाल्न हुँदैन, तर केहि खाएर त्यसको प्याकेट सडकमै फाल्न हामीलाई अलिकति पनि अफ्टेरो लाग्दैन | उसले त कमसेकम बाटामा फालिएका प्लास्टिक बटुल्दै थियो | त्यहि बटुलेर भए पनि उसले आफ्नो पेट पालेको थियो, कसैको अगाडि हात थापेर मागेर खाएको थिएन | उसले आफ्नै पसिनाले आफुलाई पाल्न जानेको थियो | घरमा सबैको मायामा हुर्केका हामी भन्दा धेरै गहिराईमा उसले जीवनलाई बुझेको थियो | शायद त्यसैले त, हामीले सिकाएर पनि नजानेका कुरालाई उसले आफैं बुझेर व्यवहारमा उतारेको थियो |

यो बालक त केवल एउटा नमुना थियो, ती हजारौं सडक-बालकको, जसको थोरै हाँसो र आशु साटिदिने मन र अलिकति मात्र सहयोग गरिदिने हात भए, सिंगो देशलाई नै परिवर्तन गर्ने शक्त्ती जसले राख्दछन |

 

– मुन्ना शर्मा