आज असार १२,
आज भन्दा ठ्याक्कै २ महिना अघि प्रत्येक नेपालीले भुल्न नसक्ने दिन:
ब: बहत्तर साल
ब: बैशाख महिना
ब: बाह्र गते
ब: बाह्र बजे
ब: बारपाकमा
ब: बिनाशकारी महाभूकम्प गएको दिन ।
धेरै बर्षदेखि सम्भावनाका रूपमा हेरिएको भूकम्पले नयाँ बर्षको सुरुवातसँगै यथार्थ रूप लिएपछि, यसले सिंगो देशकै जनजीवनलाई तहसनहस पारिदिएको छ | अधिकांश घरहरु भत्किएका छन् जसले गर्दा धनजनको ठूलो क्षति भएको छ | बर्षौबर्षसम्म सुरक्षा दिदैं आइरहेको घर आज आफ्नै असुरक्षाको कारण बनेको छ | उद्ध्हार कार्यमा आएको ढिलासुस्तीले ज्यान गुमाउनेको संख्या बढ्दो छ | पुरातात्विक र ऐतिहासिक राष्ट्रिय सम्पदा, मठमन्दिर आदिले आफ्नो अस्तित्व गुमाएका छन् | एकसय नब्बे बर्षको इतिहास बोकेर उभिएको धरहरा अब रहेन | प्राचीन राज्यकालिन इतिहास बोकेका सुन्दर दरबार कुरूप बनेका छन् | डर र त्रासले सम्पूर्ण बाँचेकालाई पनि पिरोलिरहेको छ | जाँजरकोटको महामारी र त्यसप्रतिको चासोलाई पनि किचेर, पत्रिका, एफएम, टिभीहरु सबै भुइँचालोमय बनेका छन् |
भुइँचालोपछि म आफ्नो परिवार र छिमेकीहरूका साथमा घरबाहिरको खेतमा गएर बसें | प्राय: सबैको हालत उस्तै थियो | अझ कसैको कथा त यति भयानक हुन्थ्यो कि सुन्दै मुटु चिरिएर आउँथ्यो | कसैले घर गुमाएका थिए, कसैले आफ्नो परिवार | भूकम्पको धेरैथोरै अनुभब पहिले पनि नगरेको त होइन, तर यसपालि भने भूकम्पको कहालीलाग्दो रुप नै देखियो | त्यसमाथि अझैं “चन्द्रमा उल्टो भयो रे….” चिडियाखानाबाट बाघ निस्केको छ रे…”, “ज्वालामुखी फुट्दैछ रे….”, सकेको राहत बाँड्ने बेलामा, बाडिएका यस्ता यस्ता फोस्रा हल्लाले पनि कमजोर बनेको मानसिकतालाई झन् पिरोलिरहेको देखिन्थ्यो |
भूकम्पको दृष्टिकोणले जोखिममा पर्ने देश भनेर थाहा भए पनि, यसका लागि अग्रिम सतर्कता अपनाउन नसक्नाले देश चरम पीडामा परेको हो | तर यो राष्ट्रिय बिपत्ति भनेको सधैं आईरहँदैन र यो बिपत्ति आयो भनेर डरले खुम्चिएर बस्ने समय पनि हैन, नेपाली हुनुको परिचय दिने समय हो | किनभने जस्तोसुकै बिपत्तीसँग हार नमानी एकजूट हुनसक्ने नेपालीको इतिहास छ | हो, भूकम्पले राष्ट्र डगमगाएको हो, तर राष्ट्रियता डगमगाएको छैन | राष्ट्रिय धरोहरहरु भत्किएका हुन्, सकिएका हैनन् | यी धरोहरलाई फेरि उठाउनु छ, त्यसका लागि सर्वप्रथम यहाँका जनतालाई यो पीडाबाट बाहिर निकाल्नु छ | किनभने नेपालको अस्तित्व सम्पूर्ण नेपाली जनतामा निहीत छ | देश बनाउन सर्वप्रथम देशबासीको उध्हार हुन जरुरि छ र खुशीको कुरा, यसका लागि धेरै सहयोगी हातहरु एकजूट पनि भएका छन् |
एउटा कुनै ठाउँबाट अनेकौं बाचा गरेर चुनाब जीतेर सरकारमा पुगेका नेताहरु भन्दा अगाडि पुगी उद्धारका लागि जुटेका ती पौरखी हातहरुलाई म नमन गर्न चाहन्छु | त्यस्तै सहयोगका लागि जुटेका ती सम्पूर्ण स्वदेशी देखि लिएर बिदेशी मनहरुलाई मेरो सलाम छ | तर बिडम्बनाको कुरा के छ भन्दा, सहयोग र राहतका सामग्री भित्रिएर पनि कतिपय नेपालीहरु अझै पनि छाना बिहीन छन्, कतिले अझै खान पाएका छैनन, कति ठाउँमा त अझैं सम्म कोहि पुगेका पनि छैनन् भन्ने खबर सुन्दा र त्यस्ताका लागि आफूले केहि गर्न नसकेको देख्दा मुटु चिरिएर आउँछ | आफ्नो ठाउँबाट सहयोग त सबैले गरिरहेका छौँ, तर कोहि पुग्न नसकेको त्यस्ता बिकट ठाउँमा कमसेकम त्यो ठाउँको प्रतिनिधित्व गरी भोट जितेर आएको शक्ति त त्यहाँ पुगोस् |
सरकारले केहि गर्ला भनेर राहतको झिनो आशा बोकेर बाँचिरहेका सम्पूर्ण देशबासीको मुहारमा अब छिट्टै, थोरै भए पनि खुशी छाओस् , मेरो इश्वरसँग यही प्रार्थना छ | खान पुग्नेले त फेरि पनि अर्को घर बनाउलान् तर बिकट ठाउँमा खान पनि नपाएर झिनो आशा मनमा लिएर बस्ने मान्छेहरु पनि छन् | उनीहरुमा म के आह्वान गर्न चाहन्छु भने, सरकारलाई आफ्नो अभिभावक सोच्नु तपाइको गल्ती थिएन, ढिलोछिट्टो केहि गर्ला तपाइँहरुका लागि सरकारले पनि | तर त्यो बेला सम्मलाई ढुंगारुपि सरकारको आशा छोडेर, गाउँकै हामी एकजुट भई एकअर्काको सहारा बनेर अघि बढौं |
भनिन्छ नि, जीवनमा राम्रो-नराम्रो जस्तो परिस्थिति आएपनि यसले हामीलाई केहि न केहि पाठ चाहिं सधैं दिइरहेकै हुन्छ | मुलुकमा गएको यो महाबिनाशकारी भूकम्पबाट पनि हामी नेपालीलहरुले ठूलो पाठ लिनुपर्ने बेला आएको छ | यसपाली त खुला खेतमा पाल हालेर बस्न पायौं, तर अबका केहि बर्षमा त यी खाली जग्गा पनि नरहलान् | त्यो बेला के गर्ने हो? विकल्प खोज्न जरुरि छ |
हिजो सम्म भाषीय, जातीय, वर्गीय आदि आदि माग राख्दै आएपनि, बिपत्तिले सबैलाई समान रुपमा बिथोल्यो | को पहाडी, को मधेसी भूकम्पले कसैलाई छाडेन | जीवन र मृत्युको त्यो दोसाँधमा उभिएर धर्ती सँगसँगै हल्लिँदा, हामीले कसैको हात समात्यौं, तर उसको जात सोध्न भ्यायेनौं किनभने त्योबेला हाम्रो दु:ख समान थियो | भूकम्पले अग्ला घर हुनेहरुलाई पनि सडकमा ल्याइदिएको थियो, घर नहुनेहरु त सधैं त्यहि थिए | त्यतिबेला खुल्ला मैदानको पालमा आफ्नो र आफ्नाको सकुशल जीवनको प्रार्थना गरिरहँदा हामीलाई धनी-गरीबको भेदले छोएन | हामीले एक भएर विपत्तिको सामना गर्यौँ | बाँचेकाले अरुलाई बचाँउन मद्दत गर्यौँ | यो एकताको भाव सदैव हामी नेपालीमा हुन जरुरी छ, किनभने बिदेशी भनेका त पाहुना हुन् अनि घरलाई राम्रो बनाउने जिम्मा पाहुनाको होइन, घरका सदस्य को हुन्छ | आखिर कहिले सम्म उनीहरुको सहयोगको भरमा बाँच्ने हो र ? नेपाल हाम्रो घर हो, डेरा होइन | यो घरका केहि अंश भत्किएका छन्, त्यसलाई बनाउने जिम्मा हाम्रो हो, यो घरका कति सदस्य अझैं रोइरहेका छन्, उनीहरुलाई हँसाउने जिम्मा हाम्रो हो |
यस जिम्मेवारीलाई बुझेर कति युवाहरु एकजूट भई काँधमा काँध मिलाई राष्ट्रनिर्माणमा लागिसकेका छन् | यो हौसला र एकता यसरी नै कायम रहोस् | आजसम्म कसैसँग नझुकेको तर डटेर विपत्तिको सामना गरेको इतिहास कायम रहोस् | कुनै जमानामा हाम्रा पुर्खाले गोर्खालीको परिचय दिएका थिए, आज यस विपत्तिको घडीमा धैर्यता राखी पून: जुटेर नेपालीको परिचय दिने बेला आएको छ |
हो, यतिबेला देश रोएको छ तर हटेर होइन डटेर एकजूट भएर, एउटा नेपालीले अर्को नेपालीलाई साथ् दिने हो र यदि घर, परिवार बिहीन बनेका ती दुखी देशबासीको मुहारमा फेरि पनि बाँचेर केहि गर्न सक्ने आत्मविश्वास जगाउने हो भने, मलाई बिश्वास छ, हाम्रो देश पून: हाँस्नेछ | नेपाली झन्डामा रहेको सूर्य फेरि पनि मुस्कुराउनेछ अनि यो सब देखेर विश्वसामू उभिएको सगरमाथाले फेरि पनि गौरव गरेर भन्ने छ, “यो हो मेरो नेपाल” |
नेपाल सरकारलाई हामी जनताका प्रश्नहरु पनि यिनै हुन ॥।
1. महाविपत्तिमा पनि परम्परागत शैली किन ?
2. सरकार कहाँ छ, कमान्ड कसको र कहाँ छ ?
3. विमानस्थल कसले चलायो, विमान कहाँ उडे?
4. पुननिर्माण गर्ने कि, चाउचाउकै लाइन राख्ने ?
5. बस भाडा/उपचारको पैसा सरकारले किन तिरेन ?
6. एक लाख पाल आउन किन यत्रो दिन ? यतिले पुग्ला?
7. सरकार र नेताहरु किन आफैं अलमल छन ?
8. भूकम्प कत्रो हो ७.६/७.८/७.९? यकिन भएन ।
9. बर्षातले झन् ठूलो समस्या, बर्खामा गर्ने के ?
10. राजनीतिक दल होइन राष्ट्रसेवक बन्ने गर ।
मंगलबारको दिन थियो | सयजना मान्छे मिलेर झन्डै सयलाख जनता बस्ने काठमाडौँ उपत्यका बन्द गराएरै छाडेका थिए | त्यहि यातायात बन्दका कारणले साथी आउन नमिलेपछि आज म एक्लैले कार्यक्रम चलाउन जानुपर्ने थियो | स्टेशनसम्म हिड्दै पुग्नुभन्दा अर्को विकल्प थिएन | हुन त मेरो घरबाट स्टेशन धेरै टाढा त होइन अनि साथी हुँदा त्यो बाटो गाडी चढ्न भन्दा हिड्न नै रोज्ने म्, शायद आज एक्लै भएर होला २५ मिनेटको बाटो पनि मलाई साह्रै लामो लागिरहेको थियो |
समय सधैं एकै गतिमा चल्छ त भन्छन तर मलाई लाग्छ यसले पनि परिस्थिति अनुसार आफ्नो गणित भुल्दो हो | त्यसैले त घडीको काटा पनि कहिले हिड्नै बिर्सिँदो हो अनि कहिले चाहि दौडी दौडी कुद्दो हो | जे होस्, सडकमा गाडी नचल्दा पनि पैदल हिड्न चाहि रमाईलै हुँदो रहेछ | न धुलोको डरले मुख छोप्नु पर्ने, न त गाडीका डरले छेउबाट कोचिएर हिड्नु पर्ने | यत्तिकैमा मेरो ध्यान मेरै अगाडि अगाडि चप्पल घिसार्दै हिडिरहेको एउटा बालकमा पुग्यो | कत्तिसम्म घिसार्न सकेको होला त्यो चप्पललाई, हिड्न पनि नआउने, मैले सोचें |
नियाल्दै जाँदा मैले देखें, पैंतलाको भागमा खिएर पूरै पातलो भएको रहेछ उसको चप्पल | शायद त्यो चप्पलले उसको लामो यात्रा बुझाइरहेको थियो अनि धेरै मैला पाइन्ट, ठाउँ-ठाउँमा च्यातिएको सर्ट र हातमा बोकेको झुत्रे बोराले शायद उसलाई सडकमा बाँच्न बाध्य सडक-बालकको रूपमा चिनाइरहेको थियो; कमसेकम मैले यही रूपमा चिनें उसलाई |
ऊ बाटोमा हराएको केही कुरा खोज्दै हिंडिरहेको जस्तो देखिन्थ्यो | घरि बाटाका प्लाष्टिक टिपेर आफ्नो बोरामा हाल्थ्यो, घरि बाटाका ढुंगालाई फूटबलझैँ गरि खुट्टाले हान्थ्यो | कहिले आफूले खाँदै गरेको बिस्कुट बाटोमा देखेका कुकुरलाई दिंदै हिड्थ्यो त कहिले आकाशमा उडेका चराहरुको समूहलाई हेरेर हाँस्दै हिड्थ्यो | उ घरि छिट्टो हिंडेर मेरो अगाडी पुग्थ्यो त कहिले बाटोमा भेटिएको सामानसँग अल्मलेर मेरो पछाडी हुन्थ्यो | अगाडि पछाडि गर्दै हिडें पनि हामी सँगसँगै भइरहेका थियौ |
केहीबेर हिंडेपछी मेरो अघिल्तिर एकजना बूढीमान्छे दाउराको भारीलाई आफ्नो पिठ्यूँमा हाल्न खोज्दै थिइन् तर त्यो भारलाई उचाल्न सकिरहेकी थिइनन् | म भने पछाडीबाट त्यो भारी उचाल्न मद्दत गर्नुपर्ला भनेर मात्र सोच्न भ्याउँदै थिए, त्यो बालक कत्ति छिट्टो अगाडी बढेर त्यो भारी उनको पिठ्युँमा चढाईदियो, म हेरेको हेरै भएँ | मलाई एकदमै खुशी लागेर आयो | मुहारमा मुस्कान छचल्किने गरि मनमा एउटा तरङ्ग उठ्यो | लाग्यो क्यामेरा बोकेकी हुँदीहूँ त यो पललाई फोटोमा कैद गर्ने थिए | सुन्दा यो दृश्य सामान्य लाग्दो हो तर साच्ची भन्नुपर्दा यो कुराले मलाई अहिलेसम्म पनि एउटा सकारात्मक उर्जा दिन्छ | यो दृश्यले मलाई एउटा अनौठो आभास गरायो, मलाई त्यो बालकसँग बोल्न मन लाग्यो |
मैले उसको नाम सोंधे |
“ रामशरण ”, फाटिएका उसका दाँतबाट थोरै मुस्कान छर्दै उसले जवाफ दियो |
कुरा गर्दै जाने क्रममा थाहा पाए, उसको घर दोलखा रहेछ | सानैमा बाबुआमा बितेपछी ऊ आफ्ना केहि साथीहरुसँग काठमाडौँ आएको रहेछ | एकजना साथी र ऊ मिलेर भक्तपुर दरबार नजिकैको कबाडीखानामा दिनभरि बटुलेको सामान लगेर बेच्ने र त्यहि पैसाले खानेकुरा खाने र एउटा पाटिमा दुइजना सँगै बस्दै आएको उसले बतायो | अनि अहिले चाहि ऊ त्यहि पाटितिर फर्केको रहेछ, शायद उसको हातमुख जोड्ने दिनभरिको काम र थकानपछी |
यति कुरा सक्दा नसक्दा, स्टुडियो पनि आइपुग्यो | उसले मलाई ऊ बस्ने पाटीको ठेगाना पनि दिइसकेको थियो | पढ्न मन लाग्छ? भन्ने मेरो प्रश्नमा उसले केहि प्रतिक्रिया दिएन | शायद उसलाई त्यसको उत्तर दिन जरुरि लागेन | छुट्ने बेला, तिमी केहि खान्छौ? भन्ने प्रश्नमा भने उसले स्वीकृति दियो | छेउको पसलबाट उसकालागि केहि खाने कुरा किनिदिएर मैले उसलाई बिदा गरे अनि म भने, घडीको काटाले फेरि धोका दिंदै कुदेको देखेर हतार हतार स्टुडियोतर्फ लम्किए |
त्यो दिनको, बीस मिनेटको उसँगको त्यो हिंडाईले मलाई धेरै कुरा सिकायो | समाजले उसलाई खातेको नामले चिन्ने गरेको थियो तर उसको निधारमा थोपरिएको यो नाम भन्दा धेरै फरक थियो उसको व्यक्तित्व | समाजमा सभ्य मानिएको भाषामा उसले बोल्न त जानेको थिएन तर सभ्यता उसको व्यवहारमा थियो | सफाई उसको रूपमा थिएन तर सफा उसको मन थियो | मानिस त उसको सोचले ठूलो हुन्छ, व्यवहारले महान हुन्छ | उसका ती निश्चल आँखालाइ नियालेर हेर्दा उसको भावनाको स्वच्छतालाई देख्न सकिन्थ्यो | उसको मनको यथार्थ चित्र देख्न सकिन्थ्यो |
उसका हात समातेर डोहोर्याउने कोहि थिएन तर परि आएको बेला अन्जान मान्छेलाई पनि आफ्ना सहयोगका हात अघि बढाउन उसले जानेको थियो | माया गरेर “ला बाबु खा” भनेर उसललाई खानेकुरा दिने कोहि थिएन तर पनि आफ़ूसँग भएको खानेकुरा सडकको कुकुरसँग बाढ्दै हिड्न पनि उसले जानेको थियो | उसलाई हाँसो र खुशी दिने कोहि थिएन तर आकाशमा उडेका चराहरुलाई हेरेर भएपनि उसले जीवनमा रमाउन जानेको थियो |
बाबुआमाको काख नपाए पनि उसले जीवनमा धेरै कुरा जानेको रहेछ | हामीलाई त घरदेखि स्कुल सबैले सिकाउछन्, फोहोर जताततै फाल्न हुँदैन, तर केहि खाएर त्यसको प्याकेट सडकमै फाल्न हामीलाई अलिकति पनि अफ्टेरो लाग्दैन | उसले त कमसेकम बाटामा फालिएका प्लास्टिक बटुल्दै थियो | त्यहि बटुलेर भए पनि उसले आफ्नो पेट पालेको थियो, कसैको अगाडि हात थापेर मागेर खाएको थिएन | उसले आफ्नै पसिनाले आफुलाई पाल्न जानेको थियो | घरमा सबैको मायामा हुर्केका हामी भन्दा धेरै गहिराईमा उसले जीवनलाई बुझेको थियो | शायद त्यसैले त, हामीले सिकाएर पनि नजानेका कुरालाई उसले आफैं बुझेर व्यवहारमा उतारेको थियो |
यो बालक त केवल एउटा नमुना थियो, ती हजारौं सडक-बालकको, जसको थोरै हाँसो र आशु साटिदिने मन र अलिकति मात्र सहयोग गरिदिने हात भए, सिंगो देशलाई नै परिवर्तन गर्ने शक्त्ती जसले राख्दछन |